विचार

गोरस नै जीवनरस

खबर खुराक
२ जेठ २०८१ १४:१५

डा सुभास पोख्रेल

गत साता चितवनको इच्छाकामना गाउँपालिकाले कार्यालयमा चिसो पेयपदार्थहरू (कोल्ड ड्रिंक्स)को प्रयोग निषेध गरेको खबर आयो। कोक तथा पेप्सीको बदला दही/मोही प्रयोग गर्दा स्थानीय उत्पादनले प्रोत्साहन पाउने भएकाले किसानलाई फाइदा पुगोस् भनेर  त्यसो गरेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए।

केही दिनअघि मात्र कपिलवस्तुबाट गोरससम्बन्धी अर्को समाचार आयो। दूध र दही बेच्दै आएको स्थानीय ग्लोबल डेरी उद्योगले गत महिनादेखि मोहीको समेत व्यावसायिक उत्पादन सुरु गर्‍यो। गर्मी महिनामा बोतलमा प्याक गरेको मोहीले स्थानीय बजारमा निकै लोकप्रियता हासिल गरेको देखियो।

वर्षौँदेखि कोक÷पेप्सीमा बानी परेकालाई गोरसमा आकर्षण गर्न डेरी केही हदसम्म सफल भएको देखियो। इच्छाकामना पालिकाको चिसो पेय निषेध गरी गोरसलाई प्रश्रय दिई किसानलाई राहत दिने सोच अनि कपिलवस्तुको डेरी उद्योगको स्थानीय बजारमा स्वच्छ मोही बिक्री गरी पेप्सीलाई चुनौती दिने लक्ष्य देखियो। यस आलेखको लक्ष्य आर्थिक नाफा/घाटाको चिरफार होइन, बरु गोरस र बोतलमा प्याक भएका पेयमध्ये स्वास्थ्यका हिसाबले कुन हितकर छ भन्ने कुराको सुसूचन मात्र हो।

भर्खरको बच्चा केबल दूधको भरमा हुर्कन्छ। दूधमा शरीरलाई चाहिने करिब करिब सबै पोषण पदार्थ पाइन्छ। दूधबाटै बन्ने भएकाले दही पनि त्यही श्रेणीको पर्ला भन्ने सोच अस्वाभाविक होइन तर यथार्थमा त्यसो हुँदैन। दूधबाट नै बन्ने भए पनि दहीमा ब्याक्टेरियाहरूले खेल्ने रासायनिक प्रक्रियाको भूमिका हुन्छ। सूक्ष्माणु सिर्जित रियाक्सनले दहीलाई दूधभन्दा अझ पोषणयुक्त बनाउँछ। चिनी रोग, मुटु रोग, हीको समस्या, प्रतिरक्षा प्रणालीका अतिरिक्त पाचन ब्याक्टेरियाको सशक्तीकरणमा दहीले दूधभन्दा महत्त्वपूर्ण भूमिका खेल्छ।

छालीवाला दूधको स्वास्थ्यलाभमा प्रश्न उठाउँदै क्रिम हटाएको पेय खाने सल्लाह दिन्छन् चिकित्सकहरू। तर के क्रिम भएको भन्दा छालीरहित दही स्वस्थकर हो त?

सन् २०१८ मा द लान्सेट जर्नलमा प्रकाशित एक अध्ययनले उक्त प्रश्नको उत्तर दिएको छ। अनुसन्धानले फ्याट हटाएको दूध दही भन्दा प्राकृतिकरूपले प्राप्त नै गोरस अझ बढी स्वस्थकर हुन्छ भन्यो। छालीसहितको दही सेवनले मुटुसम्बन्धी रोग अनि चिनी रोग नबढाउने मात्र कहेन, बरु वजन पनि नबढाउनेदेख्यो उक्त अध्ययनले। तसर्थ, बजारको दूध दहीमा पाइने फ्याटप्रति चिन्ता गर्न आवश्यक भएन।

अधिक क्यालोरी भएको खान्कीले वजन बढाउने भएकाले कम ऊर्जावाला भोजन खान सल्लाह दिइन्छ। मोटोपन धेरै किसिमका रोगको कारक भएकाले त्यस्तो सुझाव असामान्य होइन। तर के बराबर क्यालोरी भएको खाना समान हो त? उत्तर खोज्ने क्रममा समान क्यालोरी भएको दूध र कोल्ड ड्रिंक्सले स्वास्थ्यमा पार्ने प्रभावको अध्ययन गरे युनिभर्सिटी अफ क्यालिफोर्निया सानफ्रान्सिन्स्कोका प्राध्यापक रोनाल्ड क्राउस सम्मिलित अनुसन्धान टोलीले।

सन् २०२० मा प्रकाशित उक्त अध्ययनले क्यालोरीको हिसाबले समान नै भए पनि दूध पिउने समूहमा रक्तचाप र युरिक एसिडको मात्रा कोकमार्पmत ऊर्जा लिने समूहभन्दा निकै सुधार भएको देख्यो। तसर्थ, कोल्ड ड्रिंक्सको बदला गोरस खाँदा युरिक एसिड तथा मुटु रोगको संभाव्यता  घट्ने देखियो।

सन् १८८६ मा फर्मासिस्ट जोन पेमबर्टनले मिश्रण समीकरण विकास गरेपछि कोकाकोलाको व्यावसायिक उत्पादन सुरु भयो। पछि कोकको प्रतिस्पर्धीका रूपमा पेप्सी भित्रियो। अहिलेको विश्व बजारमा कोक र पेप्सीको वर्चस्व छ।

नेपाललगायत संसारका दुई सय देशमा पेप्सी र कोक कम्पनीले विभिन्न नाममा आफ्ना पेय पदार्थ बिक्री गर्छन्। विभिन्न किसिमका रासायनिक पदार्थका कारण तिख्खर गुलियो महसुस नगरिए पनि सोडाहरूलाई चिनी झोलभन्दा फरक पर्दैन। चार बोतल कोकमा एक पाउभन्दा बढी चिनी पाइन्छ अनि शरीरलाई चाहिने लवण तथा भिटामिन पटक्कै हुँदैन उक्त पेयमा।

एक अध्ययनले जसै संसारमा ठण्डाको व्यापार बढ्दै गयो तसै तसै विश्वमा मधुमेहका रोगीको आयतन बढेको देख्यो। हुन पनि एकै बोतलमा त्यति धेरै चिनी भएपछि मधुमेहका रोगीको संख्या उकासिनु कुन ठूलो कुरा भयो र? यसरी कोक/पेप्सीका कारण मधुमेहका रोगीको संख्या बढेपछि धेरै देशले यी चलानी सर्वतको बिक्री वितरणलाई कर अभिवृद्धि तथा जनचेतनामार्फत हतोत्साहित गर्ने प्रयास गर्‍यो।

स्वास्थ्य सचेतताले आफ्नो बजारलाई संकुचित गर्ने भएपछि चिनीको सट्टा वैकल्पिक रासायनिक पदार्थ प्रयोग गरी कोकको उत्पादन सुरु भयो। चिनीभन्दा अत्यधिक गुलिया तर क्यालोरीबिहीन धेरै किसिमका रासायनिक पदार्थहरू ल्याबमा उत्पादन भएका छन्।

पछिल्लो समय क्यालोरीबिहीन गुलियो प्रयोग गरी कोक पेप्सी बजारमा आए। मिठो तर क्यालोरीबिहीन उत्पादनका कारण पेय पदार्थले पुनः लोकप्रियता पायो। विगतमा चिनी रोग र मोटो होइने डरले पेप्सीबाट पृथक् बसेका समूहलाई कम्पनीले समेट्यो। क्यालोरीरहित डायट कोक तथा पेप्सी संसारभर लोकप्रिय भयो। रासायनिक पेय पदार्थको उपभोग बढ्यो।

उत्पादनको केही वर्षपछि सामान्य कोक र क्यालोरीरहित पेय पदार्थको समष्टिगत नाफा/घाटाको आकलन गर्नु श्रेयस्कर भयो। आकडा संकलनका क्रममा वैज्ञानिकहरूले अनौठो परिणाम देखे।

चिनीरहित कोकले मानिसको वजन व्यवस्थापनमा मद्दत गर्ला भन्ने सोचिएकामा क्यालोरी फ्रि पेप्सी खाने समूह अर्को समूहभन्दा अझ मोटा देखिए। सूक्ष्म अध्ययन गर्दा रासायनिक पदार्थले मानिसको मेटाबोलिज्मलाई विपरित धारमा पुर्‍याइ केहीलाई खन्चुवा अनि अर्को समूहलाई थोरै खाए पनि जिउ बढ्ने अवस्थामा पुर्‍याएको पाए।

चिनीका विकल्पका रूपमा रहेका धेरै रासायनिक पदार्थ प्रयोगशालामा जनावर (मुसा) मा परीक्षण गर्दा विविध चरित्रका क्यान्सरको कारक हुन सक्ने देखियो। त्यसका अतिरिक्त रेगुलर र डायट कोक सेवन गर्ने दुई पक्षलाई नियाल्दा क्यालोरी फ्रि पेय समूहमा क्यान्सरको प्रकोप अधिक रहेको प्रमाणित गरे फरक फरक अध्ययनहरूले।

यसरी ल्याब उत्पादित रासायनिक गुलियोको विपक्षमा आएका खँदिला प्रमाणहरूले संसारको स्वास्थ्य अनुगमन निकायलाई बोल्न बाध्य बनायो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सन् २०२३ को मेमा ल्याब उत्पादित वैकल्पिक गुलियो प्रयोगविरुद्ध संसारलाई सचेत गरायो।

डब्लुएचओले नै आर्टिफिसियल स्विटनरप्रति चिन्ता व्यक्त गरेपछि थप बोल्न आवश्यक रहेन। यसरी रेगुलर कोक पेप्सीले मधुमेहको संभाव्यता बढाउने अनि क्यालोरीरहित पेय पदार्थहरू विभिन्न किसिमका क्यान्सरको स्रोत हुन सक्ने भएपछि सबै किसिमको सोडाको विकल्प आवश्यक बन्यो।

कार्बोहाइड्रेट, फ्याट, प्रोटिनलगायत धेरै किसिमका भिटामिन पाइने दूध आफैंमा करिब करिब पूर्ण खान्कीको रूपमा छ। दूधभन्दा अझ उपल्लो दर्जाको दही मोहीले आन्द्राका सूक्ष्माणुलाई सबलीकरण गरी हामीलाई धेरै किसिमका रोगबाट पनि जोगाउँछ। तसर्थ, इच्छाकामनाले स्थानीय किसानलाई केन्द्रमा राखी कोक बन्देज गरी गोरसलाई अतिथि सत्कारको माध्यम बनाउने निर्णय स्वास्थ्य सुधारका लागि स्वागतयोग्य देखियो।

स्थानीय तहमा डेरी उद्योगको प्रबर्धन गरी कोकमा आदत परेकाका लागि दूध, दही र मोहीमा बानी पारौँ। बोतलमा प्याक भएर आउने कोल्ड ड्रिंक्सलाई स्थानीय मोहीले प्रतिस्थापन गर्न सके अर्बुद रोगलगायतका धेरै स्वास्थ्य समस्याबाट मुक्ति पाउनुका अतिरिक्त किसानले सडकमा दूध फ्याल्नुपर्ने अवस्था पनि आउने थिएन। तर स्थानीय दुग्ध उद्योगको प्रबर्धन गर्दा चिनीको मात्रा अत्यधिक भएका गोरस कोकभन्दा फरक नहुने यथार्थ भने नभुलौँ। ‘कोक/पेप्सी बाइबाइ: दही/मोही हाइहाइ’ भन्ने अवस्था बनाउन सके स्वास्थ्य सुधारका अतिरिक्त स्थानीय अर्थतन्त्र  पनि उकासिन्थ्यो।

नागरिक न्युजबाट ।।



प्रतिक्रिया