संघर्षका मैदानमा : बेथा
बोलाउँदा सबैले बेनु भन्छन् । उनको खास नाम बेनप्रसाद थापा हो । बेनु थापालाई छोटकरीमा बेथा भन्न सकिन्छ । बेथा अनेक किसिमका हुन्छन् मान्छेभित्र । बेनुका ब्यथा थोरै छन् कथा धेरै छन् । जन्मघर गुल्मीको ठूलो लुम्पेक हो ।
बेनुले एसएलसी गरेर ठूल्दाइ फटिक थापाको सल्लाहमा बुटवल बहुमुखी क्याम्पसमा आइएल पढ्न बुटवल झरेका थिए । यो प्रसंग २०४८ सालतिरको हो । आइएलसम्मको पढाई गरे तर प्रमाण पत्र हात पार्न सकेनन् । तीन महिना जति तेजप्रसाद कंडेलको ल फर्ममा काम सिके । पुनरावेदन अदालतमा मिसिल सार्ने काम गरे । विहानभर क्याम्पस दिनभर त्यतै भुले । कानूनका कथा,बेथा बुझ्न थाले ।
गाउँबाट सांस्कृतिक कार्यक्रममा संकलन गरेको एक हजार एक सय रुपैयाँ साथीहरुसँग सापटी लिएर उनी बुटवल आएका थिए । पढ्दा पुरानो बुटवलतिर फुपू पर्नेकहाँ बस्थे । उनको सानो चिया पसलमा सघाउँथे । क्याम्पस पढेर फुपूकहाँ पुग्दा कहिलेकाँही खाना पाकेको हुन्थेन । अनि पाउरोटीका भरमा ल फर्मतिर दौडिनुपर्ने बेथा अरुलाई के थाहा ? पाउरोटी खाएर उनले थुप्रै दिन गुजारेका छन् ।
आइएल पूरा नभएपछि आइए पढ्न थाले तर त्यो पनि उनले पूरा गर्न सकेनन् । कामको खोजीमा भौतारिए । भानुपार्क नजिकै रहेको ज्योति पेट्रोल पम्पमा १३ महिनासम्म ठूल्ठूला ड्रमबाट पेट्रोल,डिजेल सार्ने,नाप्ने काम गरे । त्यतिबेला उनको तलब मासिक सात सय रुपैयाँ थियो । तीन सयमा साँझ विहान भात खान्थे । राति त्यहि सुत्थे । तर, दिसापिसाव गर्न भने अहिलेको नबिल बैंकको पछाडितिर दौडिन्थे । कष्ट थियो । जागिर छाड्दा उनीसँग दुई हजार छ सय रुपैयाँ पाकेटमा बचत थियो ।
त्यहाँबाट हिडेपछि उनी अस्पताल लाइनमा रहेको आरके आर्टसमा काम सिक्न गए । करिव तीन महिनामा ब्यानर,बोर्डमा लेख्न सक्ने भएपछि राजकुमार लिगल दाइबाट हल्काफुल्का नास्ता खाने पैसा पाउने भएछन् । त्यो कुराले उनी तीन बित्ता उफ्रिएछन् । तीन महिनासम्म आफ्नै बचत पैसाले खाइवरी सिकेका रहेछन् । हातमा सीप र कला भएपछि बाँचिन्छ भन्ने उनमा आँट,हिम्मत र जाँगर पलाएछन् । आरके आर्टस्मा करिव तीन वर्ष काम सिकेर पोख्त भएपछि ट्राफिक चोक नजिकै नेपाल आर्टस् खोलेर बेनु थापाले आफ्नो पहिचानको दायरा बढाउँदै लगे । यो कुरा २०५३ सालतिरको हो । करिव २८ वर्षको निरन्तर कला यात्रामा रहेका बेनुले दोस्रो लकडाउनकै अवस्थामा बेलबासतिर आफ्नो नेपाल आर्टस्लाई सारेका थिए ।
बेनुले ब्यानर,बोर्डमात्र लेख्दैनन् बरु उनले कलात्मक चित्र कोर्छन् र भावनामा अभिव्यक्त गर्छन् । मूर्ति बनाउन खप्पीस छन् । उनले बनाएको अर्मूत कलाका रुपमा रहेको मूर्तिहरु बुटवलको हील पार्कमा हेर्न र देख्न पाइन्छ । त्यो कला बेथाको अमूल्य कला हो । बेथाले कला सम्बन्धी त्यस्तो औपचारिक कक्षा त लिएका छैनन् तर चित्रकला र मूर्तिकलामा आफ्नै दरिलो उपस्थिति भने जनाइ रहेका छन् । बेथा भन्छन्- सानैदेखि मलाई चित्रकलामा रुचि थियो । दाइहरुले नागपञ्चमीका बेला नागका चित्र कोर्न लगाउँथे । त्यतिबेला मैले कापीको पानाहरुमा गाउँका धेरै घरहरुलाई पुग्नेगरी नागको चित्र बनाउँथें । त्यतिबेलाको इच्छा यतिबेला गरिखाने बाटो बनेको छ ।
कला सम्बन्धी प्रतियोगिताहरुमा बेथाले भाग लिएका छन् । पुरस्कृत भएका छन् । राष्ट्रियस्तरका कला गोष्ठी,प्रतियोगितामा आफ्ना कलाहरु प्रस्तुत गरेका छन् । मोफसलमा रहेरपनि आफ्नो परिचयलाई फैलाएका छन् । स्थानीय सरकारहरुसँग मिलेर कलालाई तिखार्ने काम गरेका छन् । आफूजस्तै धेरै प्रतिभाहरु जन्माउने काम गरेका बेनुले आर्टस् सिकाएका भाइहरुले देश/विदेशमा समेत गरिखाँदै आएका छन् ।
काठमाडौंमा जाँदा नगेन्द्र लिम्बूसँग करिव १५ दिन बेनुले वाटर कलरसम्बन्धी ज्ञान लिने अवसर प्राप्त गरेका रहेछन् । मुहारचित्र आर्टस्मा उनको राम्रो दक्षता रहेको छ । यतिबेला उनले आफ्नै आर्टस्मा बसेर धेरैका मुहारचित्रको आर्टस् गरेका छन् । काम भ्याइ नभ्याइ छन् । असार १५ जस्तै छ । एउटा मुहार चित्र ( पोट्रेट ) को मिहिनेत हेरिकन पाँच हजारदेखि १५ हजारसम्म लिने गरेको बेनु (९८४७०२६११६) ले बताए । हुन त कलाको मूल्य हुँदैन भनिन्छ । तैपनि कलाकार बाँच्ने आधार कलाको बिक्री हो ।
बुटवलमा आर्टस् ग्यालरी छैन । कलाकारहरुका कलाहरुलाई संकलन र बिक्री गर्नका निम्ति ग्यालरी नहुँदा असर परिरहेको नेपाल व्यसायिक कलाकार संघ,रुपन्देहीका अध्यक्ष रहेका बेनुले बताए । कलाकारहरुलाई एकीकृत गर्न गठन गरिएको संस्थालाई थप व्यवस्थित गरी लैजाने अभियानमा आफूहरु रहेको उनले सुनाए । उनको संस्था र बुटवल भाषा,कला,साहित्य,संस्कृति प्रतिष्ठानले दुई वर्ष अघि तिहारपछि गरेको दुईदिने सिर्जनशील चित्रकला प्रदर्शनीको आयोजना गरी कलाकारहरुको श्रीवृद्धिमा टेवा पुराएको थियो । त्यहाँ उनले महत्वपूणर् भूमिका निर्वाह गरेका थिए ।
कलाकार देशको गहना भयो । चाहिँदा लगाउने र नचाहिँदा फुकाल्ने निर्जीव गहना जस्तै । भावनात्मक र विम्वात्मक गहना हुन् खास कलाकार । राज्यले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान बनायो । सबैका हितका निम्ति तर सोचेजस्तो फड्को मार्न सकेको छैन कलाले । ललितकलाभित्र चित्रकला,मूर्तिकला,गायन,संगीत,नृत्यकला र अभिनयकला पर्छन् । बुटवलमा ललितकला सम्बन्धी छोटो तालिम दिने र औपचारिक रुपमै शिक्षा दिने शिक्षालय पनि नहुँदा ललितकला यसै पछि पारिएको सबैलाई भान हुने गर्छ । बुटवलमा रहेका कलेज वा मावि तहको कक्षा ११/१२ मा ललितकला अध्यापन गराउने सकिने हो भने बुटवल क्षेत्रमा ललितकलाको उजागर हुनेमात्र होइन जीवनोपयोगी शिक्षा प्रदान गरी युवाहरुलाई वैदेशिक रोजगारीबाट रोक्न सकिने बेनुले बताउँदै थिए ।
पत्रकारिता सिक्ने रहर नलागेको पनि होइन बेनुलाई । त्यहि भएर एकपटक पत्रकार डिआर घिमिरे जनसंघर्ष पत्रिकामा रहँदा उनीसँगै कुराकानी पनि गरे । त्यो पनि उनीबाट तरो लागेन । लाहुरे बाबाका साहिंला छोरा बेनुलाई लाहुरे बन्ने हुटहुटी पनि जागेन । बरु बेनु सांस्कृतिक मञ्चहरुमा देखा परेर सांस्कृतिक फाँटको छाँट देखाउन पुगे ।
गायन र नृत्यप्रति अहिले उस्तै रुचि राख्छन् । उनको नृत्यकला देखेर धेरैजना छक्क पर्छन् । हलुङ्गो गरी नाच्छन् । जस्ताका तस्तै टेली सिरियलमा अभिनय गरेका छन् । ब्याडमिण्टन खेलमा असाध्यै लगाव छ उनको । थुप्रै प्रतियोगितमा समावेश भइ पुरस्कार हात पारेका छन् । त्यही भएरै होला ५१ वर्षे बेनु १८ वर्षेजस्तै फूर्तिला देखिने !
बुटवल वडा नं. १३ को बंदेलपोखरी मिलनटोलमा श्रीमती मनकुमारी थापासँगै तीन सन्तान बस्दै आएका छन् । छोरोले १२ कक्षा पढेको छ । जेठी छोरीले कोरियन तालिम केन्द्रमा अटोमोबाईलको तालिम लिएकी छिन् र कान्छी छोरीले माध्यमिक तहमा पढ्दैछिन् ।
आफ्नो कलालाई परिश्रम,पसिना र पैसासँग जोड्दै जीवनको यात्रालाई सजिलो बनाउन वीमा कम्पनीको अभिकर्ता भएका छन् । आम्दानीलाई छोराछोरीका शिक्षादीक्षामा खर्चिएका छन् । घरव्यवहार चलाएका छन् ।
पछिल्लो समयमा फेलेक्स ब्यानर,बोर्ड,पोष्टरहरु फेलेक्स मेसीनद्वारा छापिन थालेछि आफ्नो पेसामा चुनौती थपिएको,कलाकारहरु विस्थापित हुँदै गएको बेनुले बताए । फेरिपनि यस्ता चुनौतीहरुलाई चिर्दै कलाकारहरुको कलालाई जोगाउनु आफ्नो संस्थाको दायित्व र जिम्मेवारी रहेको बेनुले सुनाउँदै थिए ।
भविष्यमा कलालाई गरिखाने शिक्षाको रुपमा विकास गर्ने र कलाको बजारीकरण गर्दै जीवनोपयोगी शिक्षाका रुपमा परिभाषित गर्ने आफ्नो रहर कहिले पूरा होला बेथाले सोच्दैछन् । उनी अरनिको स्मृति प्रतिष्ठान, नेपालको सदस्य र नेपाल व्यवसायिक कलाकार संघ,रुपन्देहीको निवर्तमान अध्यक्ष तथा सल्लाहकार हुन् ।



प्रतिक्रिया दिनुहोस