व्यापार व्यवसायलाई सुरक्षित वातावरणको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
मिलन विश्वकर्मा
कात्तिक १९, पाल्पा । जेनजी आन्दोलनका क्रममा भइरहेको तोडफोड र हिंसात्मक गतिविधिले देशको उद्योग, व्यापार तथा व्यवसायमा गम्भीर असर परेपछि अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघले सरकारसँग तत्काल शान्तिपूर्ण समाधानका लागि आग्रह गरेको छ ।
संघका पाल्पा जिल्ला संयोजक टीकाराम पौडेलद्वारा हस्ताक्षरित ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाइएको छ ।
संघले ज्ञापनपत्रमा आन्दोलनका क्रममा भइरहेको अत्यधिक बल प्रयोग, आगजनी र तोडफोडका कारण व्यवसायिक गतिविधि ठप्प हुन पुगेको र नागरिकको जनजीवन प्रभावित बनेको उल्लेख गरेको छ । साथै, उद्योगी व्यापारीहरूले व्यवसायिक स्थायित्व र सुरक्षित वातावरण सुनिश्चित गर्न सरकारलाई तुरुन्त पहल गर्न आग्रह गरेका छन् ।
संघका अनुसार, आन्दोलनका कारण साना तथा ठूला उद्योगहरू बन्द हुन थालेका छन्, व्यापारिक ढुवानी रोकिएको छ र बजारमा वस्तुको आपूर्ति समेत प्रभावित भएको छ । संघले यस्तो अवस्थाले देशको रोजगारी र आर्थिक स्थायित्वमा नकारात्मक असर पार्ने भन्दै सरकार र आन्दोलनकारी दुवै पक्षलाई शान्तिपूर्ण वार्ताबाट समाधान खोज्न आग्रह गरेको छ ।
ज्ञापनपत्रमा नौवटा मागहरू समेटिएका छन् । जसमा आन्दोलनका क्रममा भएको अत्यधिक बल प्रयोगको छानबिन, व्यवसायिक क्षतिको मूल्यांकन र राहत, तोडफोड र व्यवसायिक सुरक्षा वातावरणको पुनःस्थापना, तथा औद्योगिक क्षेत्रमा स्थायित्व कायम गर्ने माग प्रमुख छन्।
संघले विद्युत अवरोध, ढुवानी र आपूर्तिमा भएको अवरोध, लगानीकर्ताको मनोबल गिरावटजस्ता समस्या समाधानका लागि पनि तत्काल कदम चाल्न सरकारसँग अनुरोध गरेको छ । यस्तै प्रदेशको औचित्यतता पुष्टि हुन नसकेको हुँदा प्रदेश संरचना खारेज गरी स्थानीय तहलाई प्रभावकारी तथा आर्थिक रूपले सम्पन्न बनाउनुपर्ने कुरामा जोड दिएको छ ।
सरकारको सक्रिय हस्तक्षेपले उद्योग, व्यापार तथा रोजगारमूलक वातावरण पुनःस्थापित गर्न मद्दत पुर्याउनेमा पौडेलले विश्वास गर्नुभएको छ ।
ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले आफूले तत्काल ज्ञापनपत्र सम्बन्धित निकायमा पठाउने बताउनुभयो ।
टोलीमा राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीको पनि उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस