जनयुद्ध दिवसको अवसरमा पाल्पामा सहिद परिवारलाई सम्मान

खबर खुराक
१ फागुन २०८२

मिलन विश्वकर्मा

पाल्पा, १ फागुन । ३१ औं जनयुद्ध दिवस समारोह २०८२ का अवसरमा पाल्पामा सहिद परिवारलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कम्युनिष्ट पार्टी तानसेन नगर समितिको आयोजनामा तानसेन नगरपालिकाभित्रका सहिदको सम्मान स्वरुप सहिद परिवारका आफन्तहरुलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

सहिद परिवारलाई सम्मान गर्दै नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता तथा प्रत्यक्षतर्फ पाल्पा निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सोम प्रसाद पाण्डेयले मुलुकको समृद्धि अहिलेको हाम्रो मुख्य अभिभारा भएको बताउनुभयो ।

नेपाली जनताको चाहना र भावना पुरा गर्ने हाम्रो एउटा मात्र अर्जुनदृष्टि हुने उहाँले बताउनुभयो । हामी जनताको सेवा गर्न तयार रहेकोले यसपालि भारी मतका साथ विजयी हुने उहाँले बताउनुभयो । ३१ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।

नेकपाबाट समानुपातितर्फकी उम्मेदवार पार्वती विश्वकर्मा सामनाले सुशासन र समृद्धिका लागि नेकपाको विकल्प नभएको बताउनुभयो । दशवर्षे जनयुद्ध देखि जेनजी आन्दोलनमा ज्यान गुमाउने सहिद प्रति सम्मान व्यक्त गर्नुभयो ।

नेकपाका केन्द्रीय सदस्य नेत्र प्रसाद पाण्डेयले देशभर नेपाली कम्युनिष्ट पार्टी पहिलो बनाउने गरी पार्टी कार्यकर्ताहरु मेहनत गर्न आवश्यक रहेको बताउनुभयो ।

नेकपा पाल्पाका संयोजक अशोक कुमार शाहीले ३१ औं जनयुद्ध दिवस अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै सहितका सपना पुरा गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।

नेकपा तानसेन नगरसमितिका अध्यक्ष प्रतीक्षा गाहा सिंजालीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष युवराज पन्तले स्वागत र सचिव नवराज बस्याल(बादल)ले संचालन गर्नुभएको थियोे ।